कपाल खौरिँदै सोनु निगमले मागे धर्म गुरुसँग १० लाख भारु
मुम्बई, वैशाख ६ – कोलकाताको एक मुस्लिम धर्मगुरुको अपिलको प्रतिक्रिया दिँदै भारतीय गायक सोनु निगमले बुधबार आफ्नो कपाल खौरिएका थिए ।
ट्वीटरमा मस्जिदको अजानको ठूलो आवाजले आफ्नो निद्रा विग्रिएको बताएपछि ती धर्मगुरुले निगमको कपाल खौरेर जुत्ता माला लगाउनेलाई १० लाख भारु पुरस्कार दिने घोषणा गरेका थिए ।
यसअघि उनले वेस्ट बंगाल युनाइटेड माइनोरिटी काउन्सिलका उपाध्यक्ष सायेद शाह अतेफ अली अल कादरीको अपिललाई ‘धार्मिक गुण्डागर्दी’ को संज्ञा दिँदै आफ्नो कपाल खौरिने बताएका थिए ।
कपाल खौरिए पछि उनले पत्रकार सम्मलेन गर्दै उनले आफ्नो ट्वीट धार्मिक विषयभन्दा सामाजिक विषय तर्फ लक्षित भएको बताएका थिए । उनले यसले कसैको भावनाको ठेस पुगेमा क्षमा पनि मागे ।
‘म सबै धर्मको सम्मान गर्छु । यो अजानको कुरा थिएन । ठूलो आवाजको थियो । ठूलो स्पीकरमा आवाज बजाउनु मेरो लागि गुण्डागर्दी नै हो,’ उनले भने ।
‘यो देशलाई के भएको छ ? अब जोकोहीले फतवा जारी गर्न पाउने ? म यहाँ एउटा धर्मको मात्र कुरा गरिरहेको छैन,’ निगमले थपे ।
आफूले त्यतिबेला मन्दिर र गुरुद्वाराको बारेमा पनि लेखेको तर कसैले त्यसमा भने ध्यान नदिएको कुरा गरे ।
उनको ट्वीटले समाजिक सञ्जालमा निकै ठूलो बहस भएको थियो । धेरैले उनको आलोचना गरेका थिए ।
Comments
Post a Comment